
११ भदौ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु गल्ती स्वीकार नगरेसम्म चुनावमा तालमेल नहुने बताएका छन् ।
राजविराजमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले लोसपाका नेताहरुले मधेशीको भविष्य बर्बाद गरेको आरोप लगाए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाउन लगाएको भन्दै अध्यक्ष यादवले केही दिन सरकारमा जान मात्र पार्टी फुटाएको आरोप लगाए ।
‘मधेशको भविष्य बर्बाद गर्ने मधेशीको हिमायती हुन सक्दैनन्’ उनले भने, ‘मधेशी– मधेशी माला जपेर हुँदैन । त्यो स्टेन्डमा रहनुपर्यो नि ?’ अध्यक्ष यादवले एमालेले नागरिकता विधेयक पास नहोस् र मधेशीले नागरिकता नपाउन् भन्ने चाहेको बताए । मधेशीलाई अधिकारविहीन बनाएर नागरिकता, रोजगारविहीन बनाउने र दबाएर राख्ने नीति अनुसार एमाले अघि बढिरहेको यादवले अरोप लगाए । यस अघि सत्ता गठबन्धनमा तालमेल होला कि नहोला भन्दै उपेन्द्रले ठाउँ ठाउँमा लोसपा संग तालमेल गर्न तयार रहेको अभिव्यक्ति दिंदै आएका थिए।
Facebook Comments