Loading...
जसपाको सम्पूर्ण अधिकार उपेन्द्रमा निहित, अशोक राइ पार्टीको रेखदेख गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको प्रस्तावित विधानमा केन्द्रीय समिति अध्यक्ष नै कार्यकारी अधिकारसहितको मूख्य भूमिकामा रहने व्यवस्था छ भने संघीय परिषद अध्यक्षलाई पार्टी रेखदेखको जिम्मेवारी दिइए पनि निर्णय गर्ने अधिकार दिइएको छैन । विधान अधिवेशनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेकोे विधानको मस्यौदामा संघीय परिषद्को अध्यक्षलाई समग्र पार्टी कामको नेतृत्व गर्ने अधिकार दिएको छ । संघीय परिषद अध्यक्षलाई पार्टीको केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगलगायत सबै केन्द्रीय निकायहरूको संयोजन गर्ने तथा भएका निर्णयहरू कार्यान्वयन भए, नभएको रेखदेख गर्ने गराउने जिम्मेवारी दिइएको छ । तर अब अधिकार कटौती गरेर परिषद्का अध्यक्षलाई विभिन्न पार्टीसँग बन्ने गठबन्धन तथा एकताका लागि समन्वयको जिम्मेवारी तोकिएको छ । पार्टीको नीति निर्माणमा भूमिका निर्वाह गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रतिष्ठा बढाउन आवश्यक पहल गर्ने, देशमा विभिन्न राजनीतिक दलहरू बीच सहकार्य र धु्रवीकरणको पहल गर्ने जिम्मेवारी परिषद्का अध्यक्षलाई दिइएको छ ।

केन्द्रीय अध्यक्षले प्रमुख कार्यकारी नेता, प्रवक्ता तथा केन्द्रीय कार्यालय प्रमुखको हैसियतमा पार्टीको नेतृत्व गर्ने भनिएको छ । राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय सचिवालयका निर्णयहरूको कार्यान्वयनमा नेतृत्व गर्ने, महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय सचिवालयको बैठकको अध्यक्षता गर्ने र आवश्यक परे निर्णायक मत दिने अधिकार पनि केन्द्रीय अध्यक्षलाई दिइएको छ ।

बैठक बोलाउन निर्देशन दिनुको साथै महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी पनि केन्द्रीय अध्यक्षलाई प्रस्तावित विधानले दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *