Loading...
वर्षा, हावाहुरी तथा असिनाले मध्यपुर्वी मधेशका किसान तथा ईंटा व्यवसायी मारमा

सुरेन्द्र सिंह

बैशाख ८ गते जनकपुरधाम केही दिन यता निरन्तर भइरहेको वर्षा, हावाहुरी तथा असिनाले मध्यपुर्वी मधेशका किसान तथा ईंटा व्यवसायी मारमा परेका छन् । वर्षाका कारण आँप, गहुँ, दलहनवाली तथा तरकारी खेती नराम्ररी प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । जिल्लामा २  हजार ४ सय ८५ हेक्टर जग्गामा आँप खेति गरिन्छ । खासगरि उत्तरी र पुर्वी धनुषामा आँप बढी उत्पादन हुने गरेको छ । तर वर्षासँगै परेको असिनाको कारण टिकोला अवस्थामा रहेको आँप बढी झरेकोले यस वर्ष उत्पादनमा ह्रास आउने बताइएको छ ।

चालु आर्थिक वर्ष आँपको लागि ‘अफ सिजन’ भएपनि सुरुवाती अवस्थामा १० हजार मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको थियो । असिनाको कारण टिकोला नै झरेपछि आँप उत्पादनमा ५० प्रतिशतभन्दा कम उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेन्द्र गोईतले बताए ।
गत आर्थिक वर्षमा करिब १८ हजार मेट्रिकटन आँप उत्पादन भएको उनले बताए ।  त्यसैगरी गँहु तथा दलहन, तेलहन तथा तरकारीबाली किसानले खेतमा फलेको अन्न घरभित्र्याउन लागेको अवस्थामा वर्षाले क्षति पु¥याएको छ । वर्षाका कारण अधिकांश किसानको गँहु तथा रहर खेतमै रहेकोले पानीमा भिजेर सँडने सम्भावना बढी  ।
अधिकृत गोईतले टुडेसँग भने, ‘यस वर्ष गहँुको उत्पादन राम्रो भएको छ, तर अझै सम्म धेरै किसानले गहुँ व्यस्थापन गर्न नसकेकोले  क्षति हुने सम्भावना धेरै छ ।’ जिल्लाको  ४० हजार हेक्टरमा गहँु उत्पादन हुँदै आएको छ । गत वर्ष १ लाख १० हजार मेट्रिक्टन गहँ उत्पादन भएको थियो । दलहन र  तरकारी खेतीमा पनि धेरै क्षति भएको उनले बताए । नियमित रुपमा भइरहेको वर्षाले यस क्षेत्रका ईंटा व्यवसायी मर्कामा परेका छन् ।
वर्षासँगै खस्ने असिनाले पोल्न तयारी अवस्थामा राखिएको काँचो ईटामा धेरै नै क्षति भएको व्यवसायीहरुले बताएका छन् । धनुषाका बाबा ईंटा उद्योगका सञ्चालक मोहम्मद अली मन्सरीले नियमित रुपमा आउने वर्षाका कारण अहिले सम्म १७ लाख भन्दा बढी ईंटा नष्ट भएको छ । ईटा उद्योगी दोहोरो नोक्सानमा रहेको उल्लेख गर्दै उनले भने, ‘एक त तयारी अवस्थामा रहेको ईंटा पानीमा गलेर नष्ट भयो, अर्को त्यसलाई बनाउन लागेको मजदुरी तथा समाग्री पनि खेर गयो ।’
समय–समयमा हुने वर्षाले र्इंटा उद्योगीहरु थप समस्यामा परेको उनले दुखेसो पोखे ।
जिल्लामा करिब ८१ वटा वैधानिक ईटा उद्योग रहेको छ । ईटा व्यवसायी संघका धनुषा अध्यक्ष विनय यादवका अनुसार वर्षा तथा असिनाले जिल्लामा १५ करोड भन्दा बढी मुल्य बराबरको ईंटा नोक्सान भएको छ । गत आर्थिक वर्षमा भन्दा यस आर्थिक वर्षमा यहाँका उद्योगीहले थप मर्कामा परेको भन्दै उनले भने, ‘एउटा ईंटा भट्ठामा कम्तिमा पाँच देखि २० लाख रुपैयाँसम्मको क्षति भएको छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *