Loading...
फोरमका सांसद श्रेष्ठले किन र कसलाई दिए कडा जवाफ ? ‘निमको बोट रोपेर सुन्तला फल्दैन’
काठमाडौँ, २२ माघ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले निमको बोट रोपेर सुन्तला फलेन भन्ने आदिवासी जनजाति सङ्घसंस्था सम्बद्ध केही नेताहरूको कडा आलोचना गरेका छन् । उनले यो कुरा नेपाल तामाङ घेदुङद्वारा सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक महोत्सवमा शुभकामना मन्तब्य दिँदै बताएका हुन् ।
उक्त ल्होसार कार्यक्रममा आदिवासी जनजाति महासङ्घ तथा तामाङ घेदुङका केही नेताहरूले आफ्नो मन्तब्यको क्रममा सोनाम ल्होसार लगायत आदिवासी जनजातिका पर्वहरूको बिदा कटौती, पहिचान सहितको सङ्घीयता जस्ता विषयहरूको उत्थान गर्दा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसकै कोटीमा राखेर ससफोलाई पनि विरोध गरेको सन्दर्भमा उनले कुरा उठाउनेहरू र नउठाउनेहरूलाई पनि एकै ठाउँमा राखेर आलोचना गरेकोमा आक्रोश व्यक्त गरे र भने, ‘सहिलाई सहि र गलतलाई गलत भन्न नसकेकै कारण आदिवासी जनजातिहरू पछाडी परेका हुन् ।’
संविधान बनाउने बेला पहिचानविरोधी पार्टीलाई भोट दिने अनि राम्रो संविधान बनेन, पहिचान सहितको सङ्घीयता प्राप्त भएन भनेर आफ्नो पार्टीको आलोचना गर्नेहरूलाई जवाफ दिंदै उनले भने, ‘आफ्नो पार्टीले जितेको भए पहिचान सहितको सङ्घीयता आइ सक्थ्यो । अब नेवाः, तामसालिङ् आदि पहिचानयुक्त प्रदेश प्राप्त गर्न सङ्घर्षको विकल्प छैन । अष्ट्रलियाका आदिवासीले जस्तै लामो समय धुनी बालेर बस्नु पर्ने पनि हुन सक्छ, भारतमा तेलङ्गनाले लडेजस्तै लड्नुपर्ने पनि हुन सक्छ ।’
नेता श्रेष्ठले आफ्नो पार्टीले संसदमा पटक पटक संविधान संशोधन र पहिचान सहितको सङ्घीयताको कुरा मात्र होइन गोर्खा राज्य विस्तारपछि आन्तरिक औपनिवेशिकरणमा परेका उत्पीडित समुदायको मुक्तिको कुरा पनि उठाएको र अहिले भइरहेको हिउँदे अधिवेशनको पहिलो दिनको पहिलो भाषणमै सार्वजनिक बिदा कटौतीको विरोधमा बोलेको स्मरण गराए । उनले चुनौति दिंदै भने, ‘आफूले बोलेको कुरा यू ट्यूब लगायतका सार्वजनिक सञ्जालहरूमा आएका छन् । आदिवासी जनजाति महासङ्घका अध्यक्ष र घेदुङका अध्यक्षले एकपटक सुने राम्रो हुन्छ ।’
स्मरणीय छ, सरकारले गत वर्ष सार्वजनिक बिदा कटौतीको निर्णय गर्दा ससफो सरकारमा गइसकेको थिएन । त्यतिबेलै सांसद श्रेष्ठले पार्टीको तर्फबाट या त दशैँको, तिहारको नभनी एकमुष्ट विदा छुट्याई सबै समुदायले आआफ्नो चाडपर्वमा विदा लिने व्यवस्था मिलाउन या आदिवासी जनजाति, मधेसी, थारु सबैको मुख्य पर्वमा कटौती गरेको बिदा कायमै राख्न संसदमा कुरा उठाएका थिए ।
सांसद श्रेष्ठले आफ्नो पार्टीले दुईबुँदे सहमति बमोजिम संविधान संशोधन गर्न प्रधानमन्त्रीज्युलाई स्मरणपत्र दिइ सकेको बताउँदै सरकारले सहमति अनुरूप पहिचान पक्षधर शक्तिको बहुमत आउँदा संविधान संशोधन गरी १० जोड १ मा जानका लागि ढोका नखोले आफ्नो पार्टी सरकारबाट बाहिरिने कुरा पनि प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *